सर्लाही,८ वैशाख । मोरङको रतुवामाइमा हवाई फायर गरेर प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको छ । रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय रतुवामाइ नगरपालिका वडा नम्बर १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ छन् । भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई घेराउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक कवित कट्वालले भारतीय नम्बर प्लेटको बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेको बताए । उनलाई रोक्न चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर भएको कट्वालले बताए ।
मियाँको साथबाट ५ पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम करिब आधा किलो खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
