सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् ।
यसअघि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए ।
उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो ।
अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् ।
केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लगानीको विवरण पनि बाहिर आयो ।
उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
