सर्लाही, १० बैशाख । मधेश प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन दर र विद्यालयबाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज जनकपुरमा सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रदेशस्तरीय नतिजाले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार मधेशमा नवजात शिशु मृत्युदर प्रतिहजार जन्ममा २० र ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ ।
मधेशमा कुपोषणको अवस्था पनि गम्भीर छ । उमेर अनुसार तौल कम भएका बालबालिका २३ दशमलव २ प्रतिशत र उचाइ कम भएका ३१ दशमलव १ प्रतिशत रहेका छन् ।
शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १ देखि ५ मा ९ दशमलव २ प्रतिशत, कक्षा ६ देखि ८ मा ८ दशमलव २ प्रतिशत र कक्षा ९ देखि १२ मा २२ दशमलव ६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । प्रारम्भिक बाल शिक्षामा सहभागिता दर जम्मा २६ दशलमव ३ प्रतिशत मात्र छ ।
प्रतिवेदनअनुसार स्वास्थ्य सेवामा पनि कमजोरी देखिन्छ । ७० दशलमव ४ प्रतिशत महिलाले मात्र सिफारिशअनुसार ४ पटक पूर्वप्रसूति जाँच गराएका छन् । स्वास्थ्य बीमाको दर महिलामा ६ दशलमव ६ र पुरुषमा ३ दशमलव ९ प्रतिशत मात्र रहेको छ ।
केही सकारात्मक पक्षमा ९८ दशमलव ५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, ९४ दशमलव ७ प्रतिशतमा टेलिफोन र ७८ दशलमव ९ प्रतिशतले इन्टरनेट उपकरण प्रयोग गरिरहेका छन् ।
९९ प्रतिशत घरपरिवारले सुधारिएको खानेपानी स्रोत प्रयोग गरे पनि ६५ प्रतिशत पानीमा इ–कोली जीवाणु भेटिनु गम्भीर चिन्ताको विषय रहेको प्रतिवेदनले देखाएको छ ।
