सर्लाही, १० बैशाख । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ । यो विमानस्थलबाट निर्यात भने शून्य छ ।
उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि वैदशिक व्यापार नभएको देखिन्छ । विमानस्थलस्थित भन्सार बिन्दुबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गर्छ ।
त्रिभुवन विमानस्थलबाट ९ महिना अवधिमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको १०.५५ प्रतिशत हो । ९ महिनामा कुल वस्तु आयात १४ खर्ब ९० अर्ब बराबर भएको छ ।
यसो विमानस्थलबाट निर्यात व्यापार भने २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । विभागका अनुसार यो कुल निर्यातको ११.९३ प्रतिशत हो ।
विभागका अनुसार चैतसम्म कुल निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको भएको छ । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्जबाट हुन्छ । वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र कुल निर्यातको ३५.६९ प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ ।
तथ्यांक अनुसार वीरगञ्जबाट ६ खर्ब ९४ अर्ब बराबर आयात भएको थियो । निर्यात भने ७९ अर्ब ५५ करोड रुपैयाँ बराबर भएको छ ।
