प्रहरी महानिरीक्षक कार्की-सम्बोधन काठमाडौँ, १० वैशाखः प्रहरी महानिरीक्षक दानबहादुर कार्की बिहीबार ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

सर्लाही, १० बैशाख ।  नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढेको बताएका छन् । मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा समस्या भइरहेको बताउँदै उनले प्रयोगकर्ताको विवरण पाउन र आपत्तिजनक सामग्री हटाउनसमेत नसकिएको बताए ।

हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोको लाइभमात्र आधिकारिक रूपमा दर्ता भएको बताउँदै उनले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा नेपालमा दर्ता नहुँदा समस्या बढिरहेको बताएका छन् ।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कार्कीले विशेषगरी महिला र युवावर्ग साइबर अपराधबाट बढी प्रभावित भइरहेको दृष्टान्त देखाए ।

कार्कीका अनुसार हालसम्म सामाजिक सञ्जालमा ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउनेसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएको छ । साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना दर्ता भएका छन् भने वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको छ ।

एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की दिने, यौनजन्य हिंसा तथा ब्ल्याकमेलिङका गतिविधि पनि बढ्दो क्रममा रहेको कार्कीले जानकारी गराए ।

समितिमा कार्कीले भने, ‘हाम्रोमा साइबर बुलिङका घटना बढेको छ । १० हजारभन्दा बढी त वित्तीय अपराधका उजुरी आएका छन् । फेक एकाउन्टका ४ हजारभन्दा बढी र बुलिङ तथा ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् ।’

महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले र नेपालमा प्रत्यक्ष कार्यालय र पर्याप्त कानुनी व्यवस्थाको अभावमा अनुसन्धानका लागि आवश्यक विवरण पाउन समस्या भइरहेको बताएका छन् ।

उनले थपे, ‘फेसबुक, इन्स्टाग्रामलगायत प्लेटफर्मबाट प्रयोगकर्ताको विवरण लिन प्रहरीलाई २०-२५ दिनसम्म लाग्ने गरेको छ । सामान्य बुलिङ वा ह्यारेसमेन्टका घटनामा एक साताभित्र जानकारी आउँछ ।’

नाबालक हराएको वा आत्महत्यासम्बन्धी गम्भीर घटनामा २४ घण्टाभित्र सूचना प्राप्त हुने गरेको उनले सुनाए ।

ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब, जिमेललगायत प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा टेकडाउनसम्बन्धी प्रतिक्रिया नआउने समस्या रहेको पनि कार्कीले ब्रिफिङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *