सर्लाही, ११ वैशाख । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाका ‘चिठी’ अनियमित रूपमा बिक्री वितरण भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ ।

कार्यालय प्रमुख विजय यादवमाथि योजनाहरू बिचौलिया मार्फत बिक्री गर्ने र प्रक्रिया प्रभावित पार्ने आरोप लागेको हो ।‎

स्रोतका अनुसार कार्यालय प्रमुख यादवले प्रदेश सभा सदस्यहरूको ‘सिलिङ’ भित्रका योजना बाहेक अन्य योजनासमेत बिचौलिया प्रयोग गरेर वितरण गर्दै आएका छन् ।

ती योजनाहरू वितरणका क्रममा आर्थिक लेनदेन हुने गरेको र करिब ६ प्रतिशतसम्म रकम कार्यालय प्रमुखले लिने, उपभोक्ता समिति गठन हुँदासम्म यो दर १२ प्रतिशतसम्म पुग्ने दाबी गरिएको छ ।

‎यस कार्यालयबाट सर्लाही जिल्लाभित्र सञ्चालन हुने भौतिक निर्माणसम्बन्धी योजनाहरूको चिठी वडा कार्यालयमार्फत जानुपर्ने प्रावधान रहे पनि, ती चिठीहरू वडा कार्यालयमा नपठाई व्यक्तिगत रूपमा वितरण भइरहेको मलंगवा वडा नं.१० का वडा अध्यक्ष मुकेश झाले आराेप लगाए ।‎

वडा अध्यक्ष झाका अनुसार आफूहरूले योजनाको विवरण माग्दा “फलानाले लग्यो”, “यो अमुक प्रदेश सभा सदस्यको कोटामा परेको छ” जस्ता बहाना बनाएर पन्छिने गरिएको छ ।

‎यसबारे प्रतिवाद गर्दा कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीको नाम लिएर ‘उहाँको अनुमति बिना चिठी दिन नसकिने’ भन्दै झुक्याउने गरेको आरोपसमेत वडा अध्यक्षले लगाए । ‎तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया ले भने आफूले त्यस्तो कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।

उनले विकास निर्माणसम्बन्धी कार्यालयहरू संवेदनशील हुने भएकाले शान्ति–सुरक्षा कायम राख्न समन्वय मात्र गर्ने आफ्नो भूमिका रहेको बताए । साथै, योजनाहरू पारदर्शी बनाउन चिठीहरू सम्बन्धित वडा कार्यालयमा पठाउने र कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने निर्देशन दिएको पनि उनले जानकारी दिए ।‎

यद्यपि, एक उपभोक्ताका अनुसार कार्यालय प्रमुख यादवले उक्त निर्देशनको पालना नगरी पहिले नै बिक्री भइसकेका र उपभोक्ता समिति गठन भइसकेपछि मात्र चिठीहरू अनलाइनमा राख्ने अभ्यास गर्दै आएका छन् ।‎

यस प्रकरणले सर्लाहीमा विकास निर्माणसम्बन्धी योजनाको पारदर्शिता, निष्पक्षता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग बढ्दो छ ।‎

पुर्वाधार विकास कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूप बिगत ३ कार्यकाल देखि निरन्तर काम काज गर्दै आईरहेका छन् भने गत बर्ष पुर्व प्रदेश सभा सदस्य अशाेक यादवसंग याेजनाकै बिषयमा बिवाद हुदाँ यिनकै कारण ले अशाेक यादव र प्रहरी प्रमुख बिच बिवाद बढेका थियाे ।

जसकाे मुद्दा अहिले पनि जिल्ला अदालत सर्लाहीमा चल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *