एआईबाट तयार गरिएको सांकेतिक फोटो ।

सर्लाही, १३ बैशाख । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुरमा चट्याङ पर्दा आगलागी भई ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार राति परेको चट्याङका कारण स्थानीय रामस्वरूप रायका करिब ६० वर्षीय छोरा सीताराम यादव घाइते भएका हुन् ।

चट्याङ लागेर उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जनाइएको छ ।

घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर तथा गोठमा रहेका अन्नपात, लत्ताकपडा र पशुचौपाया जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगलागीमा ९ वटा बाख्रा र पाँच वटा भैंसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी, घरमा राखिएको करिब एक क्विन्टल चामल, १० क्विन्टल धान, दुई क्विन्टल गहुँ, एक क्विन्टल मसुरोको दाल, भाँडाकुँडा तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *