सर्लाही, १७ बैशाख । केही साताअघि जनकपुरधाम उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ तथा सडक अतिक्रमण हटाउन व्यापक अभियान चलायो ।
नगर प्रहरी परिचालन गरेर सडक किनारमा राखिएका ठेला, तरकारी पसल हटाइए, मुख्य बजार क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास गरियो ।
सो अभियानपछि केही दिन बजार क्षेत्र खुला र व्यवस्थित देखियो, तर अहिले फेरि जनकपुरधामका मुख्य बजार क्षेत्रहरूमा पुरानै दृश्य दोहोरिन थालेको छ ।
रामानन्द चोक, रामचोक, जानकीचोक लगायतका व्यस्त बजार क्षेत्रमा फेरि सडक पेटीमा तरकारी बेच्ने, ठेला राख्ने र बाटोमै पसल थाप्नेहरूको संख्या बढ्दै गएको स्थानीयको गुनासो छ ।
यसले सवारी आवागमनमा समस्या त निम्त्याएको छ नै, पैदल यात्रीलाई समेत जोखिमपूर्ण अवस्था सिर्जना गरेको छ ।
स्थानीयवासीको भनाइमा नगरपालिकाको अभियान क्षणिक देखावटीजस्तै भएको छ । केही दिन कडाइ हुने, फेरि पुरानै अवस्थामा फर्कने प्रवृत्तिले समस्या झन् जटिल बनिरहेको उनीहरूको गुनासो छ ।
जनकपुरधाम–७ का स्थानीय रवि ठाकुरले भने, ‘नगरपालिकाले कहिलेकाहीँ नगर प्रहरी परिचालन गरेर हटाउँछ, व्यापारी भाग्छन्, तर केही घण्टा वा अर्को दिन फेरि त्यही ठाउँमा पसल थापिन्छ । अहिले फेरि बजारका सडक पेटीमा फुटपाथ व्यापारीको संख्या बढेको छ ।’
सम्बन्धित निकाय र सुरक्षा निकायको अगाडि नै फुटपाथमा फेरि व्यापार–व्यवसाय सञ्चालन हुन थालेको ठाकुरले बताए । जनकपुर–१२ का वीर झा पनि सडक पेटी र फुटपाथ फेरि व्यापारिक स्थलमा परिणत भएको जिकिर गर्छन् ।
जनकपुरधामको मुख्य बजार क्षेत्रमा दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ । धार्मिक नगरीका रूपमा परिचित जनकपुरधाममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि उत्तिकै हुन्छ ।
यस्तो अवस्थामा बजार क्षेत्रको अव्यवस्थित व्यापारले सहरको सौन्दर्य र व्यवस्थापनमा प्रत्यक्ष असर पुर्याइरहेको देखिन्छ ।
विशेषगरी बिहान र साँझको समयमा सडक किनारमा तरकारी, फलफूल, कपडा र अन्य सामग्री बेच्ने ठेलावालाको भिड लाग्ने गरेको छ । कतिपयले स्थायी पसलकै शैलीमा बाटो अतिक्रमण गरेर व्यापार गरिरहेका छन् । यसले सडक साँघुरो बनाउनुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अटेरी गर्नेहरूलाई कारबाही गरिने बताए । उनले भने, ‘अटेरी गरेर सडक अतिक्रमण गर्नेहरूलाई हामी कारबाही गर्छौं, तर मन्त्रीले मात्रै गरेर हुँदैन ।
स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीय नागरिक सबैको सहयोग आवश्यक हुन्छ । यो साझा जिम्मेवारी हो ।’
फुटपाथ अतिक्रमण हटाउन स्थानीय तह, प्रहरी प्रशासन र नागरिकबिच समन्वयको अभाव देखिन्छ । यद्यपि जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता परमेश झाले नगर प्रहरी नियमित अनुगमनमा खटिरहेको दाबी गरे ।
उनका अनुसार हाम्रा नगर प्रहरी नियमित चेकजाँचमा खटिरहेका हुन्छन् । उनले भने, ‘हामी कडाइका साथ फुटपाथ नियन्त्रण गर्न लागिरहेका छौँ, तर स्थानीय पनि सचेत हुनुपर्छ । नियम पालना गर्ने संस्कार विकास गर्न आवश्यक छ ।’
स्थानीय व्यापारीहरू भने आफ्नो रोजीरोटीको बाध्यता देखाउँछन् । उनीहरूका अनुसार स्थायी पसल भाडामा लिन सक्ने आर्थिक अवस्था नभएकाले सडक पेटीमा व्यापार गर्नु परेको हो ।
सहर व्यवस्थापनका जानकारहरू रोजीरोटीको नाममा सार्वजनिक सडक अतिक्रमण गर्न नमिल्ने बताउँछन् । स्थानीय सरकारले वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
जनकपुरधाममा फुटपाथ अतिक्रमण नयाँ समस्या होइन । वर्षाैंदेखि बजार व्यवस्थापनको नाममा पटक–पटक अभियान चलाइँदै आएको छ, तर अभियान सकिएपछि फेरि पुरानै अवस्था फर्कने गरेको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आफ्नो दायित्वअनुसार ट्राफिक प्रहरीले काम गरिरहेको प्रस्ट पारे । उनले भने, ‘हाम्रो मुख्य जिम्मेवारी ट्राफिक व्यवस्थापन हो । फुटपाथ अतिक्रमणविरुद्ध कानुनी कारबाही गर्ने कुरा स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ, तर जहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिन्छ, त्यहाँ हामी पनि कडाइका साथ अगाडि बढ्छौँ ।’
समाजसेवी अनिल दासले रामानन्द चोक, रामचोक, जानकीचोक जस्ता क्षेत्रमा अहिले पनि खुलेआम सडकमा ठेला राखिएको जिकिर गर्दै यसमा स्थानीय तह, प्रशासनको मिलेमतो जस्तो देखिने बताए ।
जनकपुरधाममा फुटपाथ अतिक्रमण नयाँ समस्या होइन । वर्षाैंदेखि बजार व्यवस्थापनको नाममा पटक–पटक अभियान चलाइँदै आएको छ, तर अभियान सकिएपछि फेरि पुरानै अवस्था फर्कने गरेको छ ।
स्थानीयवासीका अनुसार समस्या समाधानका लागि ‘हटाऊ अभियान’ मात्र पर्याप्त छैन, दीर्घकालीन योजना आवश्यक छ ।
सरोकारवालाहरू फुटपाथ व्यापारलाई व्यवस्थित गर्न छुट्टै स्थान निर्धारण गर्न सकिन्छ । व्यवस्थित हाटबजार वा खुला व्यापारिक क्षेत्र बनाएर साना व्यापारीलाई स्थान दिन सकिने उनीहरूको भनाइ छ ।
_xkSFEYsagL.jpg)
अहिले जनकपुरधामको मुख्य समस्या केवल सडक अतिक्रमण मात्रै होइन, त्यससँग जोडिएको ट्राफिक जाम, दुर्घटनाको जोखिम, पैदल यात्रीको असुविधा र सहरको बिग्रँदो अनुशासन पनि हो ।
विशेषगरी विद्यालय समय, कार्यालय समय र धार्मिक कार्यक्रमका बेला सडक किनारको अव्यवस्थित व्यापारले भिड व्यवस्थापन झन् कठिन बनाइरहेको छ ।
स्थानीय व्यवसायीहरू पनि यसबाट प्रभावित छन् । स्थायी पसल सञ्चालन गर्ने व्यापारीहरू सडक पेटीमा सस्तोमा व्यापार गर्नेहरूले प्रतिस्पर्धा असमान बनाएको गुनासो गर्छन् ।
स्थानीय पसले रूपनारायण राउतले भने, ‘हामी कर तिर्छौं, पसल भाडा तिर्छौं, नियम पालना गर्छौं, तर सडकमा बसेर व्यापार गर्नेहरूलाई नियन्त्रण नगरिँदा हामी मारमा परेका छौं ।’
जनकपुरधाम धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सहर हो । प्रदेशको राजधानीसमेत रहेको सहरको मुख्य बजार क्षेत्र अव्यवस्थित हुँदा यसको छवि पनि प्रभावित हुन्छ ।
