सर्लाही, १७ बैशाख । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ जापानमा आगामी जुलाई १० मा प्रदर्शन हुने भएको छ । त्यहाँ फिल्मलाई ‘अपरेसन धुरन्धर’ नाममा रिलिज गरिने तयारी गरिएको छ ।
यसअघि जापानमा रणवीरका ‘गली ब्वाय’, ‘गोलियों की रासलीला राम-लीला’ र ‘पद्मावत’ पनि प्रदर्शन भइसकेका छन् ।
जापानमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म ‘आरआरआर’ हो, जसले करिब १४३.६९ करोड भारु कमाएको थियो । दोस्रो स्थानमा ‘मुथु’ छ, जसको कमाइ करिब २४.०४ करोड भारु छ । ‘बाहुबली २’ र ‘थ्री इडियट्स’ ले पनि जापानमा राम्रो व्यापार गरेका थिए ।
‘धुरन्धर’ पहिलोपटक डिसेम्बर ५, २०२५ मा विश्वव्यापी रूपमा रिलिज भएको थियो । फिल्ममा रणवीरसँगै संजय दत्त, अक्षय खन्ना, आर माधवन, अर्जुन रामपाल र सारा अर्जुन देखिएका छन् । फिल्मको निर्देशन आदित्य धरले गरेका हुन् ।
बक्स अफिस ट्रयाकिङ साइट स्याकनिल्कका अनुसार, ‘धुरन्धर’ले भारत र अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट व्यापार गर्दै विश्वभर करिब १,३०७ करोड भारु कमाएको थियो ।
भारतमा फिल्मको ग्रस कलेक्सन १,००५ करोड भारु र नेट कलेक्सन करिब ८४० करोड भारु पुगेको थियो । विदेशी बजारमा पनि राम्रो प्रतिक्रिया पाउँदै फिल्मले करिब २९९ करोड भारु कमाएको थियो । अमेरिका र क्यानडामा मात्र १९३.०६ करोड भारुभन्दा धेरै कमाइ गर्दै यसले ‘बाहुबली २’को रेकर्ड समेत तोडेको थियो ।
यसैबीच, ‘धुरन्धर’को दोस्रो भाग मार्च १९, २०२६ मा विश्वभर प्रदर्शन भइसकेको छ । हालसम्म फिल्मको कुल विश्वव्यापी कमाइ १,७८० करोड भारु पुगेको छ । भारतमा यसको कुल नेट कलेक्सन १,१३२ करोड भारु छ । ग्रस कलेक्सन १,३५६ करोड भारु पुगेको छ ।
नेपाली बक्सअफिसमा यो फिल्म सुपरहिट घोषित भैसकेको छ ।
