सर्लाही, २३ बैशाख । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ ।

समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो ।

बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ ।

यसैबीच सोमबारको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका यात्रुको राति उद्धार गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई आज बिहान १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् ।

वर्षापछिको बाढीले रोशी क्षेत्रमा बीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *