सर्लाही, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पर्सि मङ्गलबार अर्थात् २९ वैशाखसम्ममा नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ आवश्यक प्रबन्ध मिलाइएको हो । 

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार पूर्व निर्धारित समय अनुसार २९ वैशाखसम्ममा नतिजा सार्वजनिक गर्ने गरि तयारी चलिरहेको छ । “नतिजा प्रकाशनका बारेमा छिट्टै सूचना सार्वजनिक गर्छौँ,” उनले भनिन् । 

विगतमा परीक्षा सम्पन्न भएको लगभग तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । तर यस पटक शिक्षा मन्त्रि सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिना भित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

सोही अनुरूप बोर्डले एक महिना भित्र नतिजा सार्वजनिक गर्न लागेको हो । यसका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने प्रबन्ध मिलाइएको थियो । बोर्डले फास्ट ट्य्राकमा काम परेर पूर्व निर्धारित समयसीमाभित्रै सबै काम पुरा गरेर एसईईको नतिजा सार्वजनिक गर्ने तयारी भएको सूचना अधिकारी मरासिनीले जानकारी दिइन् ।

यसैबिच बोर्डले एक सूचना जारी गर्दै नतिजा हेर्ने वेबसाइटसहितको सूची समेत सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने छ । 

विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक शर्टकोड मार्फत नतिजा थाहा पाउन सक्नेछन् ।

नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको छ । यस्तै जानकी टेक्नोलोजिजको ३५००१ तथा एम्बिसन गुरुको ३१०६१ मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, ईकान्तिपुर लगायतका वेबसाइट प्रयोग गरेर समेत नतिजा हेर्न सकिनेछ । यसका लागि निम्न वेबसाइटले मान्यता पाएका छन् । 

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.ekantipur.com

www.see.edusanjal.com

https://khalti.com/app

see.collegeinfonepal.com

https://theconnectplus.com
https://ncellapp.ncell.com.np/result

result.neemaacademy.com

resultayo.com

see.ambition.guru

https://see.merostudy.net

nebeducation.com/see

बोर्डले उपलब्ध गराएका माध्यम प्रयोग गरी प्रकाशित भएको केही समयपछि नतिजा हेर्न सकिने छ । शैक्षिक सत्र २०८२ को एसईई परीक्षा १९ चैतदेखि सुरु भएर २९ चैतमा सम्पन्न भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *