सर्लाही, २७ बैशाख । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ । जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । 

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन् । मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ । गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो ।

कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ । मधेस प्रदेश सभामा हाल १ सय १ सांसद छन् । कांग्रेसका २२, नेकपाका १५, जसपा–लोसपा गरी २६ गरी ६३ जना सांसद यादवको पक्षमा देखिएका छन् ।

विपक्षमा एमालेका २४, जनमतका १२,  नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन् । यसअघि, मधेस प्रदेश सभामा १ सय ७ जना सांसद थिए । लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन् । 

जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह, रहवर अनसारी, एमालेका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेदवारी दिँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *