काठमाडौं, ३१ बैशाख ।  छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको प्रयागराज-अयोध्यासहित ३० जिल्लामा बुधबार हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६ जनाको मृत्यु पुष्टि भएको छ।

यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको भारतका सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

बरेलीमा एक युवकलाई जस्तापातासँगै हावाले उडाएको बताइएको छ । राज्यको बांदा सहरमा तापक्रम ४५.४ डिग्री सेल्सियस रह्यो । विहीबार ५१ जिल्लामा तीव्र हावाहुरी र वर्षाको अलर्ट छ ।

राजस्थान पनि कडा गर्मी र हिटवेभ (लु) ले प्रभावित छ। बुधबार लगातार चौथो दिन राज्यको जैसलमेर देशकै सबैभन्दा तातो सहर रह्यो, यहाँ ४६.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

मौसम विभागका अनुसार विहीबार बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा कडा गर्मीको रेड अलर्ट छ । १३ जिल्लामा हिटवेभको चेतावनी छ ।

उता, मध्य प्रदेशका २५ भन्दा बढी जिल्लाहरूमा हिटवेभ चलिरहेको छ, जुन १८ मे सम्म जारी रहन सक्छ ।

बुधबार खजुराहोमा तापक्रम ४५.४ डिग्री सेल्सियस रह्यो। आज इन्दौर, उज्जैन, धार र रतलाममा हिटवेभको ओरेन्ज अलर्ट छ । यी जिल्लाहरूमा तातो रातको पनि अलर्ट जारी गरिएको छ ।

यता, हरियाणाको अधिकतम तापक्रममा पछिल्लो २४ घण्टामा १.२ डिग्री सेल्सियसले वृद्धि भएको छ। राज्यका ५ सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी रह्यो, जसमध्ये नारनौलमा ४२.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

राज्यमा १७ मे देखि हिटवेभको एल्लो अलर्ट छ । बिहारको पूर्णिया-कटिहारसहित ७ जिल्लामा आज भारी वर्षाको ओरेन्ज अलर्ट छ भने उत्तराखण्डका पहाडी जिल्लाहरूमा आज वर्षाको एल्लो अलर्ट जारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *