सर्लाही, ३१ बैशाख । सर्लाहीको हरिवन नगरपालिका–११, कडरिया चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले नाम, थर तथा वतन नखुलेका मागीखाने जस्तो देखिने एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनास्थल मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ ।
दुर्घटनामा संलग्न बस तथा बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१०, बाँसबारी निवासी कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

