सर्लाही, ८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा नेपालले विश्वका विभिन्न १५७ देशसँग व्यापार गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म यी मुलुकहरूसँग नेपालले गरेको कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारमा १२४ सँग घाटा व्यहोरेको छ ।
अर्थात्, अन्तर्राष्ट्रिय मञ्चमा १५७ मुलुकसँग व्यापारमा सहभागी भएको नेपालले जम्मा ३३ मुलुकसँग मात्र नाफाको व्यापार गरेको छ ।
यस अवधिमा व्यापारको हिसाबले सबैभन्दा बढी ९ खर्ब ७४ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको भारतसँग नेपालले ७ खर्ब रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
यद्यपि, १० महिनामा नेपालले गरेको कुल निर्यातको ठूलो हिस्सा अर्थात्, २ खर्ब ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको निर्यात भारततर्फ नै गरेको हो ।
खासगरी सोयाबिन तेलसँगै पाम तेल, जुट, चिया, अदुवा, अम्रिसोलगायतका वस्तुहरू नेपालबाट भारततर्फ निर्यात हुने गरेका छन् ।
यसैगरी चीनसँग नेपालको असमान व्यापार भइरहेको छ । वैशाख मसान्तसम्म चीनसँग नेपालले ३ खर्ब ३६ अर्ब ४० करोडको वस्तु आयात गर्दैगर्दा यताबाट जम्मा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।
विद्युतीय गाडीको आयात बढ्दैगर्दा पछिल्लो समय चीनतर्फको व्यापारसँगै नेपालको घाटासमेत बढिरहेको छ । समीक्षा अवधिमा नेपालले चीनसँग ३ खर्ब ३५ अर्ब १ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
युद्वग्रस्त इरानसँग नेपालको कति छ व्यापार ?
अमेरिका–इजरायल संयुक्त युद्वको प्रतिकारमा उत्रिएको इरानसँग समेत नेपालको व्यापार रहेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालले इरानसँग ७६ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने यसै अवधिमा ९ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।
समीक्षा अवधिमा इरानसँग नेपालले खुद ६६ लाख ३५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । खासगरी इरानबाट नेपालले खजुर (छोकडा), पाम आयात गर्छ ।
यसैगरी, अमेरिकातर्फ नेपालले २ करोड ७८ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले समीक्षा अवधिमा आयात भने खासै गरेको देखिएको छैन ।
यसैगरी, इजरायलसँग नेपालले ४ अर्ब १० करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दैगर्दा यसै अवधिमा ५ करोड १८ लाख ४३ हजार रुपैयाँ बराबरको निर्यात गरेको भन्सार विभागले जनाएको छ ।
खासगरी कृषि समाग्री तथा खाद्यान्न आयात हुने गरेको इजरायलसँग नेपालको खुद व्यापार घाटा ४ अर्ब ४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
