सर्लाही, ०९ जेठ । एसियन मापदण्ड अनुसार चार लेनमा विस्तार भइरहेको महेन्द्र राजमार्गको मधेश प्रदेशका तीन जिल्लामा ४७ वटा कलभर्ट निर्माण सम्पन्न भएका छन् । सर्लाही, महोत्तरी र धनुषा खण्डमा निर्माण भएका यी कलभर्टमा यातायातसमेत सञ्चालन हुन थालिसकेको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवका अनुसार यस खण्डमा कुल एक सय वटा कलभर्ट बनाउनुपर्नेमा हालसम्म ४७ वटाको काम पूरा भएको र बाँकी ५३ वटाको निर्माण जारी छ ।
राजमार्गमा यसअघि लच्का (कजवे) रहेका ठाउँमा अहिले बक्स कलभर्ट बनाइएकाले अब पानीको निकास कलभर्टमुनिबाटै हुने छ । वर्षायाम सुरु हुनुअघि नै अधिकांश कलभर्टको निर्माण सक्ने गरी काम तीव्र पारिएको आयोजनाले जनाएको छ ।
पुल निर्माणको काम धमाधम
कलभर्टसँगै तीन वटै जिल्लामा पुल निर्माणको काम पनि अघि बढेको छ । यस खण्डका कुल ३३ वटा पुलमध्ये ३१ वटामा काम भइरहेको इन्जिनियर यादवले जानकारी दिनुभयो ।
यद्यपि सर्लाहीको बागमती पूर्वी पुल र महोत्तरीको लक्ष्मीनिया जङ्गलस्थित जर्लाही पुलको काम भने अझै अघि बढ्न सकेको छैन ।
साँघुरा पुल भएका ठाउँमा पुरानो संरचना पूर्ण रूपमा भत्काएर नयाँ बनाइँदै छ भने मर्मत गरेर पुग्ने ठाउँमा छेउमै थप दुई लेनको नयाँ पुल थपिँदै छ ।
आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले वर्षाको समयमा ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालन गर्न कठिन हुने भएकाले पुरानो संरचना भत्काइएका ठाउँमा बर्खाअघि नै काम सक्न निर्माण व्यवसायीलाई ताकिता गरिएको बताउनुभयो । इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र बेमौसमी वर्षाका कारण लक्ष्य अनुसार काम अघि बढाउन केही चुनौती थपिएको उहाँको भनाइ छ ।
सन् २०२७ भित्र सक्ने लक्ष्य
महेन्द्र राजमार्ग विस्तार अन्तर्गत हाल धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर खण्डमा काम भइरहेको छ ।
हालसम्म यस आयोजनाको कुल भौतिक प्रगति २४.१५ प्रतिशत छ । विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम सक्ने लक्ष्य राखिएको छ ।
गत पुस १६ गते (सन् २०२५ जनवरी १) देखि धनुषाको बडहरी र सर्लाहीको फूलजोरलगायतका तीन ठाउँबाट एकैसाथ स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
तीन वटा फरक निर्माण कम्पनीले यसको ठेक्का लिएर काम गरिरहेका छन् । बागमती पुलदेखि पश्चिम रौतहट र बारा खण्डको पथलैयासम्मको काम पनि अघि बढाउने प्रव्रियामा रहेको छ ।
स्थापनाकालदेखि नै दुई लेनमा रहेको महेन्द्र राजमार्गलाई बजार तथा व्यापारिक क्षेत्रमा दुवैतर्फ साढे छ÷साढे छ मिटरको ‘सर्भिस लेन’ सहित छ लेनको र अन्य क्षेत्रमा चार लेनको बनाइने योजना छ ।
