सर्लाही, २५ जेठ । उदयपुर सिमेन्ट उद्योगमा उत्पादित सिमेन्ट प्याकिङ गर्न बोरा खरिद गर्ने पैसा नहुँदा तयारी सिमेन्ट बिग्रिने अवस्थामा पुगेको छ । प्याकिङ गर्ने बोरा नभएका कारण उद्योगभित्र रहेको करिब ६ करोड रुपैयाँ बराबरको सिमेन्ट नष्ट हुने जोखिम बढेको हो ।

यस उद्योगले ‘गैँडा’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । देशभर माग भए पनि प्याकिङ गर्ने बोराको अभावमा तयारी सिमेन्ट भकारीमै थन्किएको छ । विगत दुई महिनादेखि सिमेन्ट बजार पठाउन नसकिएको उद्योगका कर्मचारीहरूले बताएका छन् ।

गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । माघदेखि पूर्णरूपमा ठप्प छ । सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौज्दात छ । त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट भकारीमै थन्किएको छ भने २७ हजार बोरा उत्पादन गर्न पुग्ने ‘क्लिङ्कर’ पनि मौज्दात छ ।

प्याकिङ हाउसमा छरिएर, पोखिएर र समयमै व्यवस्थापन हुन नसक्दा झन्डै ५ हजार बोरा बराबरको सिमेन्ट प्रयोगविहीन बनिसकेको छ । ६० हजार थान बोराका लागि माग फारम भरेर पठाए पनि हालसम्म बोरा प्राप्त नभएको मेकानिकल इन्जिनियर तथा सिमेन्ट उत्पादन विभागका प्रमुख नगेन्द्रप्रसाद देवले बताए ।

सिमेन्ट समयमै प्याक गरेर बजार पठाउन पटक-पटक उद्योग प्रशासनलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।

देवले भने, ‘प्रशासनले बोरा उपलब्ध नगराएका कारण तयारी सिमेन्ट बिग्रिने अवस्थामा पुगेको छ। यो प्राविधिक कमजोरी नभई प्रत्यक्ष रूपमा व्यवस्थापकीय असफलताको परिणाम हो । खरिद शाखा र जीएम सा’बले बोरा पठाउनुभएन ।’

उद्योग प्रशासनलाई धेरै पटक बोरा व्यवस्थापन गर्न आग्रह गरिए पनि कसैले गम्भीरतापूर्वक चासो नदिएको उनको भनाइ छ ।

देवले थपे, ‘प्याकिङ हाउसमा छरिएको सिमेन्ट अहिले नष्ट भइसकेको छ । उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै बिग्रिने र डल्लो पर्ने अवस्थामा पुग्नु उद्योगका लागि मात्र होइन, राज्यकै लागि लज्जास्पद विषय हो ।’

उद्योग प्रशासन प्रमुख गम्भीरजंग खत्रीका अनुसार प्रतिबोरा ७ सय ७५ रूपैयाँका दरले हिसाब गर्दा हाल थन्किएर बसेको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख ५० हजार रुपैयाँ हुन आउँछ ।

प्याकिङका लागि आवश्यक बोरा किन्न उद्योगसँग पैसा नभएकाले उत्पादित सिमेन्ट बजार पठाउन नसकिएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्याकिङ बोराको पनि भाउ बढेको मूल्यसमेत वृद्धि भइसकेको छ ।

१५ महिनादेखि कर्मचारीले पाएनन् तलब

उदयपुर सिमेन्ट उद्योगमा १७७ जना कर्मचारी र मजदुर साथै ५९ जना सुरक्षा गार्ड कार्यरत छन् । उनीहरूले १५ महिनादेखि तलब-भत्ता पाएका छैनन् ।

कोशी प्रदेश सांसद गीता रेग्मीले लामो समयसम्म तलब नपाउँदा कर्मचारीहरूको गुजारामा समस्या परेको भन्दै केही दिनअघि प्रदेशसभामा ध्यानाकर्षण गराएकी थिइन् ।

इन्जिनियर देवले १५ महिनादेखि तलब नपाएको पुष्टि गर्दै भने, ‘यहाँ कसैले पनि तलब पाएका छैनन् । उद्योग बन्द हुँदा कर्मचारीहरू हाजिर मात्र गरेर फर्किने गरेका छन् ।’

उद्योगका निमित्त महाप्रबन्धक कोविदकुमार काफ्लेले उद्योगले तिर्नुपर्ने कुल दायित्व ५ अर्ब २९ करोड २४ लाख १३ हजार २ सय ८२ रूपैयाँ पुगेको जानकारी दिए । २०८० चैतदेखि २०८१ चैत मसान्तसम्मको कर्मचारी र मजदुरको मात्र १ अर्ब ४ करोड २४ लाख १३ हजार २ सय ८२ रूपैयाँ भुक्तानी बाँकी छ।

यस्तै, उद्योगले विभिन्न कम्पनी र सप्लायर्सहरूलाई ७५ करोड रूपैयाँ तिर्न बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने करसमेत तिरेको छैन। विद्युत् महसुल, अन्तःशुल्क, र स्थानीय रोयल्टी गरी उद्योगको कुल बक्यौता ३ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रहेको बताइएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो उद्योग २०४४ जेठ ३१ मा स्थापना भएको हो । यस उद्योगले २०४७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *