सर्लाही, ३० जेठ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख छ ।

निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ ।

यस्तै वार्षिक कार्यक्रमअनुसार ६६ केभी प्रसारण लाइन सात हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८ सय ८ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य छ ।

यसैगरी, ३३ केभी प्रसारण लाइन ८ हजार ३ सय २५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४ सय २९ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य छ ।

आउँदो आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत ५ सय ११ किलोवाट घण्टा पुर्‍याउने तथा विद्युत् चुहावट १२.०३ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य छ ।

लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट तथा सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ । आउँदो आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *