सर्लाही, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाकाे बैठकमा बोल्दै सांसद गजुरेलले यस्ताे माग गर्नुभएकाे हाे । मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारी बारेमा कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराउनुभयाे ।
क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन शुरु भई अत्यधिक वर्षा (क्लाउड बस्र्ट रेन) हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएकाे छ । गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्याउन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
त्यसैगरी, नेपालको पश्चिमी भागमा आगामी १० दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा चल्ने पूर्वानुमान रहेकाले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के–कस्तो कदम चालिरहेको छ भन्दै उहाँले प्रश्न गर्नुभएकाे छ । विपद् पूर्वतयारीका विषयमा गृहमन्त्री सुधन गुरुङले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्नुभयाे ।
सांसद गजुरेलले यसका लागि सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गर्नुभएकाे छ। उहाँले सम्भव भएसम्म आजैको बैठकमा वा अर्को बैठकमा मनसुनजन्य विपद् प्रतिकार्य योजनाकाे बारेमा विस्तृत जानकारी गराउन माग गर्नुभयाे ।
