सर्लाही, ५ असार । अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ । 

अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ ।

यता इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाब र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ । 

उहाँले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नुभएको छ । खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन । 

अमेरिका र इरान सम्झौता १४ वटा मुख्य बुँदामा आधारित छन् । जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकासका कोष स्थापना लगायत छन् ।

दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन् । सम्झौतामा हस्ताक्षरका लागि आज स्विट्जरल्याण्डमा औपचारिक समारोह तय गरिएको थियो । 

तर सम्झौतामा डिजिटल माध्यमबाट हस्ताक्षर भएपछि समारोह रद्द गरिएको खबरमा उल्लेख छ । यद्यपि दुवै देशका प्रतिनिधिहरू थप प्राविधिक वार्ताका लागि स्विट्जरल्याण्डमा भेट्ने अपेक्षा गरिएको छ । 

ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ । विशेष गरी इरानको पुनर्निर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *