सर्लाही, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट फेल गर्ने रणनीतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लागेको छ । दलाल र बिचौलियाको स्वार्थअनुसार बजेट ल्याइएको भन्दै सम्पूर्ण शक्ति प्रयोग गरेर बजेट फेल गर्ने रणनीतिमा नेकपा लागेको हो ।
सत्ता पक्षका दुई सांसदले मात्रै सहयोग गरे बजेट फेल गर्ने सकिने अपेक्षामा नेकपा रहेको छ । बजेट पारित हुनुबाट रोक्नका लागि नेकपाले सत्ता पक्षका सांसदको साथ खोजिरहेको छ ।
प्रदेश राजधानी धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेकपा संसदीय दलले पनि उक्त विषय खुलाएको छ । पत्रकार सम्मेलनमा नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट दलाल र बिचौलियाको हितलाई केन्द्रमा राखेर ल्याइएको बताए ।
उनले यस्तो बजेट स्वीकार्य नहुने स्पष्ट पार्दै पारित हुन नदिन सबै सांसदलाई आग्रह गरे । भट्टले योजना छनोट प्रक्रियामै गम्भीर प्रश्न उठाउँदै मन्त्रालयमार्फत आउनुपर्ने योजनाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट समावेश गरिएको आरोप लगाए ।
‘मन्त्रालयमार्फत जानुपर्ने योजना मुख्यमन्त्रीको कार्यालयमा टाइप भएका छन्,’ उनले भने, ‘होटल र गोप्य ठाउँमा सुटकेस बुझेर योजना हाल्ने काम भएका छन् । त्यसैले बजेटलाई असफल गर्न सबै सांसदलाई आग्रह गर्दछु । बेथिति रोक्ने दायित्व सबैको हो । सत्ताधारीबाट पनि बजेट फेल गर्न पहल हुने अपेक्षा छ ।’
उनले प्रदेश सरकारले ल्याएको बजेट आफ्नै नीति तथा कार्यक्रम, आयोजना छनोट मापदण्ड, दलीय अनुशासन तथा मुख्यमन्त्री र मन्त्रीको प्रतिबद्धता विरोधी भएको बताए ।
मुख्यमन्त्री र उनका आसेपासेबाहेक अन्य सांसदले पनि बजेट पारित गर्न नदिने बताइरहेको भट्टले जानकारी दिए । ‘केही थान नेतालाई मोटाउने किसिमले बजेट ल्याइएको छ,’ उनले भने ।
बजेटमा सत्ता साझेदार नेकपा एमालेका बहुमत सांसद पनि असन्तुष्ट छन् । उनीहरूले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् । १ असारको मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए ।
