सर्लाही, ८ असार । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। यस दुर्घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन् ।
कतार प्रशासनका अनुसार रास लाफान इन्डस्ट्रियल सिटीमा अचानक विष्फोट भई ठूलो मात्रामा आगलागी भएको थियो । कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ ।
कतारको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विष्फोटमा ५४ जना घाइते भएको र बेपत्ता रहेका १८ जनाको खोजी कार्य भइरहेको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार उक्त विष्फोट ‘प्राविधिक गडबडी’ का कारण भएको हो । यसबाट सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने गरी कुनै पनि ग्यास चुहावट नभएको स्पष्ट पारिएको छ ।
गृह मन्त्रालयले भनेको छ, ‘कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुपले सिभिल डिफेन्स टोलीसँग मिलेर बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिरहेको छ ।’
कतारको आन्तरिक बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा विष्फोटका कारण के-कति क्षति पुग्यो भन्नेबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन ।
यसैबीच, एक प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार विष्फोटको ठूलो आवाज राजधानी दोहासम्म पनि सुनिएको थियो ।
