सर्लाही, ८ असार । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । योसँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन पटकपटक प्रयास भएपनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।

यसवर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो ।

त्यसयता समयसमयमा यसको सञ्चालनको प्रयास भने भइरहेको उहाँले जानकारी दिनुभयो । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभयो ।

हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उहाँले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गर्नुभएको बताउनुुभयो ।

त्यस्तै उद्योगको हेटौँडा उपमहानगर मेयर मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिनुुभएको उहाँले बताउनुभयो ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभएको थियो । कपडा उद्योग बन्द भएसँगै उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *