सर्लाही, ८ असार । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागू औषध नियन्त्रण ब्युरो गोल बजार शाखाको संयुक्त टोली विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न पुगेको थियो ।

पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली प्रहार गरेको थियो । 

प्रहरीको गोली पासवानको खुट्टाको पिँडुलामा लागेको छ।घटनामा महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि ढुंगामुढाबाट घाइते भएका छन् ।

दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट भारतकै एक नाबालकलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका पासवान सिरहा तथा आसपासका क्षेत्रमा सक्रिय कुख्यात लागू औषध कारोबारी हुन् । प्रारम्भिक अनुसन्धानमा उनले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको खुल्न आएको छ । साथै, लागू औषध कारोबारमा नाबालकलाई प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *