सर्लाही, ११ असार । अब सडकमा ट्राफिक नियम मिच्नु चालकका लागि निकै महँगो साबित हुने भएको छ । सरकारले सवारी नियम उल्लंघन गर्नेलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रूपैयाँसम्म जरिवाना गर्ने गरी नयाँ कानुनको तयारी थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ विधेयकको मस्यौदामा जरिवानाको दरमा गरिएको भारी वृद्धिले सामान्य लापरबाहीमा पनि चालकको गोजी रित्याउन सक्छ ।
‘यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा मापसेदेखि अपारदर्शी सिसा प्रयोग गर्नेसम्मलाई कडा कारबाहीको दायरामा ल्याइएको छ ।
सडकको निर्धारित स्थानबाहेकका ठाउँबाट हिँड्ने पैदलयात्रीले पनि ५ सय जरिवाना तिर्नुपर्ने मस्यौदामा उल्लेख छ ।
विधेयकमा सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा सिसामा बाहिरबाट भित्र नदेखिने गरी अन्य वस्तु राख्ने चालकलाई सबैभन्दा बढी १ लाख रूपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, मादक पदार्थ वा लागू पदार्थ सेवन (मापसे/लापसे) गरी सवारी चलाएको पाइएमा सवारीको प्रकार अनुसार २५ हजार, ३५ हजार र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । तोकिएको गति सीमाभन्दा ६० प्रतिशतभन्दा बढी गतिमा सवारी कुदाएमा पनि भारी जरिवाना हुने व्यवस्था गरिएको छ ।
कुन गल्तीमा कति जरिवाना ?
प्रस्तावित कानुनमा विभिन्न ट्राफिक नियम उल्लंघनमा देहाय बमोजिमको जरिवाना प्रस्ताव गरिएको छ –
१० हजार रुपैयाँ जरिवाना: लेन अनुशासन पालना नगरेमा, फुटपाथमा सवारी चलाएमा, एकतर्फी (वान-वे) सडकमा विपरीत दिशाबाट सवारी चलाएमा वा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा ।
२५ हजार रूपैयाँ जरिवाना: अनुमति नलिई विदेशी सवारी साधन चलाएमा ।
५ हजार देखि २५ हजारसम्म: सार्वजनिक सडकमा मालसामान वा निर्माण सामग्री राखेर बाटो अवरुद्ध पारेमा ।
५ हजार देखि २० हजारसम्म: सार्वजनिक सवारीले तोकिएको सीट क्षमताभन्दा बढी यात्रु बोकेमा (यात्रुको चाप र रुट अनुसार) ।
५ हजार देखि १५ हजारसम्म: सवारी प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा ।
५ हजार रुपैयाँ: ढोका खुला राखेर सवारी चलाएमा वा अवस्था ठीक नभएको सवारी चलाएमा ।
३ हजार देखि ५ हजारसम्म: ट्राफिक संकेत (ट्राफिक लाइट/चिह्न) पालना नगरेमा ।
३ हजार रूपैयाँ: सुरक्षा पेटी (सीट बेल्ट) वा हेल्मेट नलगाई सवारी चलाएमा ।
ट्राफिक जरिवानाको भुक्तानी डिजिटल माध्यमबाटै गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नागरिक एप वा अन्य विद्युतीय प्रणालीबाट जरिवाना तिर्न सकिनेछ ।
यदि चालकले तत्काल जरिवाना भुक्तानी नगरेमा ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्नेछ । जरिवाना भुक्तानी गरेपछि मात्र यी कागजात फिर्ता दिइनेछ ।
सवारी नियम पटक-पटक उल्लंघन गर्नेलाई थप दण्डको व्यवस्था गरिएको छ । एउटै गल्ती दोहोर्याएमा दोस्रो पटकमा ५० प्रतिशत र सोभन्दा बढी पटक गल्ती गरेमा शतप्रतिशत थप जरिवाना लाग्नेछ ।
यसैबीच, यातायात निरीक्षकहरूलाई जुनसुकै समयमा जाँच गर्न सक्ने गरी सवारी साधन, कागजात र चालकको व्यवहार निरीक्षण गर्ने पूर्ण अधिकार दिइएको छ ।


