सर्लाही, १६ असार । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

करिब सात वर्षसम्म अलपत्र परेको मस्र्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक-भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

यस उपलब्धिसँगै निजी क्षेत्रले जलविद्युत उत्पादनमा मात्र सीमित नरही प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत व्यापारसमेत गर्न सक्ने क्षमता रहेको स्पष्ट सन्देश दिएको ऊर्जा क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।

यो प्रसारण लाइनको निर्माणको जिम्मा प्रारम्भमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो । तर सात वर्षभन्दा बढी अवधिमा कम्पनीले ८४ वटा टावरमध्ये ३५ वटा फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो ।

निर्माण अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते बाँकी काम निजी क्षेत्रलाई जिम्मा दिएको थियो ।

त्यसपछि मस्र्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण अघि बढाएका थिए ।

आयोजनाको समन्वय र सहजीकरणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा समिति गठन गरिएको थियो ।

निजी क्षेत्रले जिम्मेवारी लिएपछि निर्माणले तीव्र गति लियो । हाल सबै ८४ वटा टावरको फाउन्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन पूरा भइसकेको छ । २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न भई अहिले परीक्षण सञ्चालनमा आएको छ ।

यो प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको लगानी रहेको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गरेको बताए ।

प्रसारण लाइन अभावका कारण उत्पादन भएको विद्युत खेर जाने समस्या भइरहेका बेला निजी क्षेत्रले जिम्मेवारी पूरा गरेर नयाँ इतिहास रचेको उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले पनि मार्कीचोक–भरतपुर खण्ड निर्माण सम्पन्न भइसकेको जनाएको छ । युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने अन्तिम तयारी पूरा भएको प्राधिकरणले जनाएको छ ।

तनहुँको आँबुखैरनीस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म फैलिएको २८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमा हाल परीक्षणका रूपमा उच्च भोल्टेज विद्युत प्रवाह सुरु गरिएको छ । परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा आउनेछ ।

यो प्रसारण लाइनबाट मस्र्याङ्दी, दोर्दी, त्रिशूली तथा तिनका सहायक नदीमा निर्माण भएका र निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

यसअघि प्रसारण पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको विद्युत अब राष्ट्रिय प्रणालीमार्फत उपभोग तथा व्यापारका लागि उपयोग गर्न सकिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले आयोजनाको सम्पन्नतालाई नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । प्रारम्भिक निर्माण कम्पनीबाट समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रले जिम्मेवारी लिएर आयोजना सम्पन्न गर्नु सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनको भनाइ छ ।

उनले मस्र्याङ्दी करिडोरको बाँकी खण्ड पनि शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने ढिलाइ हटाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई समान प्राथमिकता नदिए ठूलो परिमाणमा विद्युत खेर जाने जोखिम बढ्ने उनले बताएका छन् ।

यसैबीच नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन परीक्षण भइरहेकाले लाइन वरपरका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर आसपास गाईवस्तु नलग्न तथा कुनै असामान्य अवस्था देखिएमा तत्काल प्रहरी वा प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *