सर्लाही, १६ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन् ।
नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको बताएका हुन् ।
‘देशमा गरिएको वितण्डाविरूद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ’, ओलीले भने ।
अध्यक्ष ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह समेत गरे। ‘हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौँ’, अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताए । ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको समेत उनले बताए ।
गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भन्दै ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती घटनालाई ढाकछोप गर्न आयोग बनेको दाबी गरे ।
गत भदौको उक्त घटना संविधान, लोकतन्त्र र हाम्रा विरुद्धको आक्रमण र षडयन्त्र थियो भन्दै त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न ओलीले कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरूलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने भन्दै पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेको बताए ।
