सर्लाही, २३ असार । नेपाल राष्ट्र बैंकले फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को सघन निगरानी सूची (ग्रे लिस्ट) बाट मुक्त हुन ब्यापक निगरानी र कारबाहीलाई जोड दिइएको जनाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो जनाएको हो । ग्रे लिस्टबाट मुक्त हुन एफएटीएफबाट नेपाललाई प्राप्त कार्ययोजना बमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायहरूसँग समन्वय गरिरहेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, विश्लेषण, अनुसन्धान र कारबाहीलाई थप सबल बनाइएको उल्लेख गरेको छ ।
एसिया प्यासिफिक समूह (एपीजी) ले प्रकाशन गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित नियमनकारी निकायहरूसँग सम्बन्धित प्राथमिकताका कार्यहरू र सुधारका सुझावहरू प्राथमिकताका साथ कार्यान्वयन गरिने पनि केन्द्रीय बैंकले प्रतिवद्धता जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त सूचक संस्थाहरूलाई गोएमएल सफ्टवेयरमा आबद्ध गरेको छ भने बैंक अन्तर्गतका सूचक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी हुने निर्देशनहरू समयानुकूल अद्यावधिक गर्न बैंकको वित्तीय जानकारी इकाईले निरन्तर सुझाव दिने गरेको बैंकले जनाएको छ ।
साथै, उक्त इकाईले विश्लेषण गरी नियामकीय कारबाही आवश्यक देखिएको अवस्थामा नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायलाई थप कारबाहीका लागि विश्लेषणको निष्कर्ष निरन्तर प्रवाह गर्ने गरेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
