सर्लाही, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हाे ।

भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, पूर्वाधार विकास, आर्थिक सहयोग तथा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

एडीबी अध्यक्ष कान्डाले नेपालमा दिगो विकास, पूर्वाधार निर्माण, ऊर्जा, शहरी विकास तथा अन्य प्राथमिकताका क्षेत्रमा एडीबीको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कान्डा दुई दिने भ्रमणका लागि आइतबार राति १० बजे काठमाडौं आइपुगेका थिए । अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *