सर्लाही, २३ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि अहिले राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बसिरहेको राष्ट्र बैंक स्रोत जानकारी दिएको छ ।
यदि बोर्डबाट प्रस्तावित मौद्रिक नीति पास भएमा आजै सार्वजनिक हुनेछ । तर, आजै सार्वजनिक गर्ने वा भोलि सो भने टुंगो नलागेको सूचना अधिकारी सुधा श्रेष्ठले जानकारी दिइन् । ‘अहिले बोर्ड बैठक बस्दैछ । २–४ वटा एजेन्डामा छलफल जारी छ । यदि मौद्रिक नीति पनि छलफलको विषयमा पर्याे र पास भयो भने आजै सार्वजनिक हुन पनि सक्छ,’ श्रेष्ठले भनिन् ।
केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको तयारी गर्दैगर्दा यता चालु वर्षको मौद्रिक नीति कार्यान्वयनको समीक्षा जारी गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको जनाएको छ ।
२०८३ बैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजीक्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकोमा २०८३ वैशाखमा विन्दुगत आधारमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत र निजीक्षेत्रतर्फ जाने कर्जाकोवृद्धिदर ६.५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८३ वैशाख मसान्तमा कायम सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको पनि बैंकले जनाएको छ ।
