सर्लाही, २३ असार । जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका केही भू–भागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षाअनुसार वर्षा हुन नसकेको बताए । ‘हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ’, उनले भने, ‘पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका अधिकांश पहाडी भू–भागमा मध्यम वर्षा भइरहेको छ । अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ ।’

अर्यालले हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ । विशेषगरी पहाडी भू–भागमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

विभागले आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेश र लुम्बिनीका तराईमा हुरीबतासको जोखिम रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार आज देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुनसक्ने स्थानका बासिन्दालाई  सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *