सर्लाही, २५ असार । सर्लाहीको बसबरिया गाउँपालिकामा विकास योजनाको भुक्तानी प्रक्रियामा कमिसन (घुस) मागिएको आरोपपछि विवाद चर्किएको छ ।
भुक्तानीका लागि गाउँपालिकामा पुगेका विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरूले इन्जिनियरले फाइलमा हस्ताक्षर गर्नुअघि २ प्रतिशत रकम मागेको आरोप लगाउँदै गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् ।
बसबरिया गाउँपालिका-५ का वडाध्यक्ष रामचन्द्र राय यादवका अनुसार गाउँपालिकाका इन्जिनियर रामपुजन रायले उपभोक्ता समितिको फाइलमा हस्ताक्षर गर्नुअघि २ प्रतिशत रकम बुझाउनुपर्ने भन्दै रकम मागेपछि विवाद सुरु भएको हो ।
वडाध्यक्ष यादवले घटनाबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि प्रहरी परिचालन गरिएको र त्यसपछि मात्रै सम्बन्धित फाइलमा हस्ताक्षर भएको दाबी गर्नुभयो ।
उहाँका अनुसार विवादका क्रममा लेखा शाखाका कर्मचारी, लेखा अधिकृतलगायत अन्य कर्मचारी कार्यालय छाडेर बाहिरिएका थिए ।
उपभोक्ता समितिका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित रहेकाले समस्या थप जटिल बनेको आरोप लगाएका छन् ।
हाल आक्रोशित उपभोक्ता समितिका सदस्यहरूले गाउँपालिका कार्यालय घेराउ गर्दै टायर बालेर विरोध प्रदर्शन जारी राखेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा कुनै पनि प्रकारको कमिसनबिना भुक्तानी प्रक्रिया सम्पन्न गर्नुपर्ने माग गरेका छन् ।
असार मसान्तमा सम्पन्न भएका विकास योजनाको भुक्तानी लिन उपभोक्ता समितिका प्रतिनिधिहरू गाउँपालिका पुगेका बेला विवाद उत्पन्न भएको हो ।
यस घटनाले बसबरिया गाउँपालिकामा हुने भनिएको अनियमितता तथा भ्रष्टाचारबारे थप प्रश्न उठाएको छ ।
