सर्लाही, ३० असार । बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । गए राति देशको सुदूरपश्चिमबाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो ।
बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा भएको छ ।
चितवन लगायत तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ । हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन । अहिले पानी पानी परिरहेको छ । आज र भोली पनि देशका धेरैजसो ठाउँमा मध्यम देखि ठूलो वर्षा हुने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू -भागको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू -भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू -भागको एक/दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू -भाग नजिक रहेको छ ।
