सर्लाही, ३२ असार । खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशले १७ जना अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय ट्राइसाइकल वितरण गरेको छ ।
बिहीबार जनकपुरमा समाज कल्याण मन्त्री लखन दासले अपाङ्गता भएका व्यक्तिलाई सो साइकल हस्तान्तरण गर्नुभयो ।
साइकल हस्तान्तरण गर्दै मन्त्री दासले दासले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य सेवा, रोजगारी तथा सामाजिक जीवनमा पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले विद्युतीय ट्राइसाइकल वितरण गरिएको बताउनुभयो । उहाँले यस प्रकारको सहयोग कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने जानकारी दिनुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव सुशीलकुमार साहले मन्त्रालयको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत लाभग्राहीलाई ट्राइसाइकल हस्तान्तरण गरिएको बताउनुभयो ।
त्यस अवसरमा मन्त्रालयका वरिष्ठ उपसचिव धर्मेन्द्रलाल कर्ण, कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
