सर्लाही, ३२ असार । वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो रथयात्रा हजारौ भक्तजनहरुको सहभागितामा विहीबार निकालिएको छ । 

श्रद्धा, भक्ति र उत्साहका साथ हजारौ भक्तजनहरुको सहभागितामा निकालिएको रथयात्रा गहवामाई मन्दिर परिसरबाट सुरुभई घण्टाघर, रेलवे रोडको भित्री बाइपास हुँदै छपकैया पुगी त्यँहाबाट मुख्य सडक हुँदै मकालु होटल चोकबाट आदर्शनगर हुँदै घडिअर्वा पोखरी एक नम्बर गेट छेऊबाट पुनः माईस्थान मन्दिर परिसरमा पुगी सम्पन्न भएको थियो । 

वर्षमा एक पटक निकालिने यस रथयात्राले विगत तीन वर्षदेखि निरन्तर पाइरहेको छ । यस वर्ष निकालिएको चौथो रथयात्राका दिन आज (विहीबार) बिहानैदेखि पानी परिरहेको भएपछि हजारौं श्रद्धालु भक्तजनको सहभागितामा भव्य रूपमा रथयात्रा सम्पन्न भएको हो ।

गहवामाई तीर्थ क्षेत्र विकास समिति अन्तर्गतको गहवामाई रथयात्रा २०८३ का संयोजक बसंत कुमार गुप्ताका अनुसार बिहान साढे ७ बजे निकालिने रथयात्रा वर्षाका कारण केही ढिलो निकालिएको थियो ।

यद्यपी उल्लेख्य श्रद्धालु भक्तजनहरुको सहभागितामा रथलाई नगरका विभिन्न भागको परिक्रमा गराउदै पुनः गहवामाई मन्दिर परिसर ल्याईएको उहाँले बताउनुभयो ।

मुख्य सडक विस्तारका क्रममा मुख्य सडकका संरचना भत्काइएका, भत्किएका संरचनाको अवयवका कारण केहि असहजता भए पनि श्रद्धालु भक्तजनहरुको सहभागितामा कुनै कमि देखिदैनथ्यो ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलले मौसम प्रतिकूल बनेकाले रथयात्रा भरी हेलिकप्टरबाट गरिने भनिएको पुष्प वर्षा को कार्य गर्न नसकिएको बताउनुभयो ।

‘मौसम अनुकूल नभएकाले हेलिकप्टर काठमाण्डौंबाट आउनै सकेन । सहभागिहरुमा महिलाहरुको उपस्थिती बढी रहेको देखिन्थ्यो, एक लाखभन्दा बढी श्रद्धालु भक्तजनहरुको सहभागितामा रथयात्रा सम्पन्न भयो । साँझ ६ बजेदेखि हुने सन्ध्या भजन भव्य हुनेछ ’ उहाँले भन्नुभयो ।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीको विशेष सुरक्षा व्यवस्था मिलाएको थियो ।

सम्पूर्ण रथयात्रा मार्गमा सुरक्षाकर्मीले निगरानी गरेका थिए भने सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालित गरिएको थियो । यसैगरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक विभिन्न स्थानमा वैकल्पिक व्यवस्था मिलाईएको थियो ।  

यसैगरी माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले गहवामाई मन्दिरमा आज (विहीबार) १४ औ वार्षिक पुजा अर्चना कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ८ बजेदेखि पुजा आरम्भ गरी दिउँसो १२ बजेदेखि १ बजेसम्म विश्राम गरी पुनः पुजा अर्चना गर्दै हवन गरी साँझ ४ पुजा सम्पन्न हुनेछ भने साँझ ६ बजे आरती गरी साढे ६ बजेबाट प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो केहीवर्ष यतादेखि धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित भएको गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएकाे आयोजकले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *