काठमाण्डाैं, २ साउन । भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो ।

यो रेल जिन्द र सोनिपत मार्गको झण्डै ९० किलोमिटर दूरी तय गर्नेछ । भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दाबी समेत गरेको छ । ११० किलोमीटर प्रतिघण्टा गति रहेको यो रेल पूर्णतः वातावरणमैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समारोहमा प्रधानमन्त्री मोदीले १५७ किलोमीटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेस–वे पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ, जसले यात्रा समय निकै घटाउनेछ ।

यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । यो रेल पूर्ण रूपमा वातावरणमैत्री रहेको तथा यसमा डिजेल वा पेट्रोल नचाहिने उहाँले बताउनुभयो ।

हिजो सञ्चालनमा आएको हाइड्रोजन रेलमा २ हजार ६०० यात्रु अट्ने क्षमता छ । भारतीय रेल्वेले अब अन्य रुटमा पनि यस्तो प्रविधि विस्तार गर्ने तयारी गरेको छ । रेल भारतीय इन्जिनियरहरूले डिजाइन गरेका हुन् भने यसको निर्माण भारतीय कम्पनीले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *