कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको आमरण अनशन आइतबार दोस्रो दिन पनि जारी छ । यस क्रममा उनले अब आफूलाई भोक हड्ताल गर्नु कति कठिन हुन्छ भन्ने महसुस भएको बताएका छन् । साथै, अनशनमा बसेका अन्य व्यक्तिप्रति सम्मान व्यक्त गरेका छन् ।
दीपकेले भने, ‘मेरो भोक हड्ताल आज दोस्रो दिनमा पुगेको छ । अब मलाई थाहा भयो यो कति कठिन रहेछ । म सोनम सर र यहाँ भोक हड्ताल गरिरहेका विद्यार्थीहरूलाई सलाम गर्छु । म भोलि हुने मार्चका लागि आफ्नो ऊर्जा जोगाइरहेको छु ।’
यसअघि सोनम वाङचुक दिल्लीस्थित जन्तर–मन्तरमा अनशनमा बसेका थिए । तर, शनिबार बिहान प्रहरीले उनलाई उठाएर अस्पताल लगेको थियो । त्यसपछि अभिजित आफ्ना माग पूरा गराउन अनिश्चितकालीन भोक हड्तालमा बसेका हुन् ।
यसैबीच, कक्रोच जनता पार्टीले सोमबार संसद भवनतर्फ मार्च गर्ने कार्यक्रम तय गरेको छ । सर्वसाधारणलाई ठूलो संख्यामा सहभागी हुन आह्वान गरिएको छ ।
