सर्लाही, ०३ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन् ।

आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए । 

उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ ।

लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन् । हिंसा, आगजनी, तोडफोड, कब्जा, असंवैधानिक जस्ता कुराहरू हुँदैनन् । अहिले बनेको सरकार, यसको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको सरकार हो ।’

ओलीले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे ।

उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ ।’

उनले सामाजिक सञ्जालमा दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताए ।

ओलीले लोकप्रियता हासिल गर्ने नाममा ’पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको उल्लेख गर्दै त्यसले समाज र राजनीतिमा विकृति बढाएको धारणा राखे ।

उनले भने, ‘सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने। सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छन् । तर कोही उत्तरदायी नहुने, दर्ता हुन नपर्ने, जवाफदेहिता हुनु नपर्ने, प्रतिनिधित्व लिन नपर्ने र निराधार, असत्य कुराहरू यसबाट प्रचार गर्ने, भ्रम फैलाउने काम भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *