सर्लाही, ४ साउन । चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये झन्डै ३० प्रतिशत बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेका छन् ।
अस्पतालकी निर्देशक डा. पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झन्डै १ हजार ५०० बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन् ।
यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ । हिलो छिरेको आँखालाई मिचेपछि नानीमा सङ्क्रमण भएर बिरामीहरू आउने गरेका डा. गिरीले बताउनुभयो ।
असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन् ।
आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो । आफूखुशी औषधि प्रयोग गरेका कारण ५ प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाइ छ ।
