सर्लाही, ४ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची (श्रेष्ठ-सूची) सार्वजनिक गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, गुठीलाई प्राप्त कूल २९८ पुस्तकहरू मध्येबाट यी १० कृति छनौट गरिएको हो ।
छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन् ।
त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका छन् । यी १० मध्ये एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा प्रदान गरिएको थियो। पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ ले यो पुरस्कार प्राप्त गरेका थिए ।
गुठीले वि.सं. २०७२ देखि प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो। अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको मुख्य आधार बनाइने गुठीले जनाएको छ । वि.सं. २०७५ सालदेखि मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।
नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यो पुरस्कारको अन्तिम विजेताको घोषणा केही समयपछि गरिनेछ ।

