सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बनेको छ । प्याङक्रियाजको क्यान्सरपछि उपचाररत श्रेष्ठको अवस्था जटिल बन्दै गएको छोरा सम्पूर्ण श्रेष्ठले जानकारी दिए ।
प्याङक्रियाजमा अघिल्लो वर्षदेखि नै समस्या देखिएपछि नर्भिक, धुलिखेल अस्पतालमा उपचारपछि अघिल्लो वर्ष श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भएको थियो । उनलाई क्यान्सरमा किमो दिइएको थियो । तीन महिना उपचारपछि उनी स्वदेश फर्किएका थिए ।
तर त्यसपछि उनी क्रमशः थला पर्दै गएका हुन् । पछिल्लो ९–१० दिनदेखि जावलाखेलस्थित हेलियस अस्पतालमा आईसीयूमा उपचार भइरहेको छोरा सम्पूर्णले जानकारी दिए ।
‘यसअघि हरिसिद्धी, मेडिसिटी अस्पतालमा पनि उपचार गरायौँ । तर पछिल्लो समय जावालाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्छ,’ छोरा सम्पूर्णले भने, ‘पछिल्लो ९–१० दिनयता आईसीयूमा राखेर उपचार भइरहेको छ । डाक्टरले अवस्था क्रिटिकल छ भन्नुभएको छ ।’
श्रेष्ठले कांग्रेसको कार्यवाहक सभापति, उपसभापति भएर काम गरेका थिए । राजाको प्रत्यक्ष शासनमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई जेल हाल्दा श्रेष्ठले नै पार्टी चलाएका थिए । उनी कांग्रेसका पुरानामध्येका नेता हुन् । गत पुसमा विशेष महाधिवेशनमा श्रेष्ठले भृकुटीमण्डपमा गरेको भाषण निक्कै चर्चित पनि भएको थियो ।

