सर्लाही, ७ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मैले बजारमा सुन्न पाऊँ-कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।’
उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई आग्रह गरे ।
‘करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस् । कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,’ अर्थमन्त्रीले भने । कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भन्न पनि उनले आग्रह गरे ।
कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने कुरा पनि उनले स्पष्ट पारे । ‘करदाता खुसी हुनुपर्यो । कर उठाउनेले सहजीकरण गर्नुपर्यो । राजस्वको लक्ष्य पूरा हुनुपर्यो । मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य पूरा हुनुपर्यो ।’
यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी ४ आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए । बजेटमा दिइएको छुट स्किमको कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए ।
मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न मन्त्रालयले प्रशस्त पहल गरिरहेको भन्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्न आग्रह गरे । कर प्रशासकहरूको वृत्तिविकास उनीहरुको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने भन्दै उनले सरुवाका लागि सोर्सफोर्स नलगाउन पनि कर्मचारीहरूलाई आग्रह गरे
