सर्लाही, ९ साउन । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फर्मबाट प्रहरीले ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार बलरा नगरपालिका–७ डुमरियाका भोला सिंहको कुखुरा फर्ममा बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले फर्ममा खानतलासी गर्दा २६ वटा बोरामा राखिएको १३ क्विन्टल अदुवा र १९ वटा पोकामा लुकाइराखिएको ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउतलाई नियन्त्रणमा लिइएको छ । साथै गाँजा ओसारपसारमा प्रयोग भएको उक्त योद्धा पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *