सर्लाही, ११ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–३ का युवकको आत्मदाह प्रयासपछि मृत्यु भएको छ ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए।
चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने निर्णय गरेका थिए ।
काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
