सर्लाही, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाकाे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
राप्रपाले मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घटनाको सत्यतथ्य स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगबाट छानबिन गर्न माग गरेको छ ।
हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जोसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
दण्डहीनताको संस्कृतिले यस्ता घटना दोहोरिन प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने राप्रपाले जनाएको छ ।
विज्ञप्तिमा विशेषगरी तराई–मधेशका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न भइरहेको विषयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
हिन्दु समुदाय लक्षित घटनाहरूको सूक्ष्म अध्ययन भइरहेको भन्दै यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अनुसन्धान गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिएको छ ।
राप्रपाले यस्ता घटना स्थायी रूपमा अन्त्य गर्न सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद प्रक्रिया सुरु गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । साथै, प्रत्येक नेपालीले संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
श्रृंखलाबद्ध हिंसात्मक घटनाप्रति राज्य उदासीन देखिएको भन्दै यसले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चिन्ता पनि राप्रपाले व्यक्त गरेको छ ।
पार्टीले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार्य नभएको स्पष्ट पार्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र नागरिक सुरक्षाको पक्षमा दृढतापूर्वक उभिने जनाएको छ ।
