सर्लाही, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नियुक्त गरेका सल्लाहकारको सङ्ख्यालाई उदाहरण दिँदै राज्य संयन्त्रमा सल्लाहकारको नाममा स्रोतको दुरुपयोग भइरहेको संकेत गरेका छन् ।

पूँजी बजारको विकाससम्बन्धी एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्दै आफ्नो मन्त्रालयले भने मितव्ययितालाई प्राथमिकता दिएको दाबी गरे ।

‘तपाईँहरूले अहिले सुनिराख्नुभएको छ- प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार हुनुहुन्छ, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार राखिएको छ। तर, मैले एकजना मात्र सल्लाहकार राखेको छु, त्यो पनि अवैतनिक राजस्व सल्लाहकार,’ उनले भने ।

वाग्लेले धेरै सल्लाहकार नियुक्त गरेर राज्यलाई अनावश्यक आर्थिक भार थप्ने प्रवृत्ति बढेको संकेत गर्दै आफ्नो मन्त्रालयले त्यस्तो अभ्यास नगरेको बताए ।

पछिल्लो समय प्रधानमन्त्री शाहले २७ जना सल्लाहकार तथा स्वकीय नियुक्त गरेको र उनीहरूलाई मन्त्री तथा राज्यमन्त्रीसरहको सुविधा उपलब्ध गराइएको विषय सार्वजनिक भएपछि त्यसको आलोचना भइरहेको छ ।

यता अर्थमन्त्री वाग्लेले सोमबारको कार्यक्रममा ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गरे पनि ऊर्जा मन्त्रालयले मंगलबार थप एक जना सल्लाहकार नियुक्त गरेको छ ।

मन्त्रालयले चितवनका विवेकराज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी विशिष्ट श्रेणीको सल्लाहकार नियुक्त गरेको हो ।

मन्त्रालयका अनुसार कँडेलले बृहत् ऊर्जा व्यापार सुधार तथा क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *