सर्लाही, १२ साउन । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जमा डिजेलको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ३४ लाख २२ हजार लिटरले घटेको हो ।

मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख अशोककुमार साहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ११ लाख ९ हजार ७ सय ९२ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा डिजेलको आयात ११ लाख ५३ हजार २ सय १४ किलोलिटर थियो ।

अघिल्लो वर्षको तुलनामा पेट्रोलको आयात भने बढेको साहले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोमा ४ लाख ७५ हजार ३ सय ४२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ लाख ७७ हजार ३८१ किलोलिटर पेट्रोल आयात भएको थियो ।

गत आर्थिक वर्षमा अमलेखगञ्ज डिपोबाट स्टक ट्रान्सफर समेत सुरु भएकाले पेट्रोलको आयात बढेको डिपो प्रमूख साहले बताए ।

‘गत आर्थिक वर्षबाट अमलेखगञ्ज डिपोले पेट्रोलको स्टक ट्रान्सफर पनि सुरु गरेकाले आयात अघिल्लो वर्षभन्दा झन्डै दोब्बर देखिएको हो,’ साहले भने ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पायपलाइनबाट पेट्रोल आयात हुनुअघि निगमका अन्य डिपोले छुट्टै आयात गर्ने गरेकोमा २०८१ चैतबाट पेट्रोल पनि पाइपलाइनबाटै आउन सुरु गरेपछि अमलेखगञ्जमा भण्डारण गरी निगमका अन्य डिपोमा यहाँबाटै वितरण हुने गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा मट्टीतेलको आयात पनि घटेको छ । ६ हजार ५ सय ९० किलो लिटर मटितेल यस वर्ष आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा मट्टीतेलको आयात ७ हजार ५ सय किलोलिटर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *