सर्लाही, १४ साउन । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ । कर्फ्यु २०८३ साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ ।
कर्फ्यु पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ ।
यस्तै उत्तरतर्फ गोलबजार वडा नम्बर ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबैको सहयोगको अपेक्षा गरेका छन् ।
कर्फ्यूको बर्खिलाप हुने गरी कुनै गतिविधि भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ ।
