सर्लाही, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।
बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षासँगै हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
