सर्लाही, १४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ । हिजो घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भएसँगै पराजित भयो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेइनले ३ विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले २–२ तथा आर्यन दत्तले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। नोआ क्रोसले सर्वाधिक ७० तथा कप्तान स्कट एडवाड्र्सले ५७ रन बनाए ।

करण केसीले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले १–१ विकेट लिए । शृङ्खलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदानबाहिर यो लगातार आठौँ हार हो ।

योसँगै अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ । नेदरल्यान्ड्सले भने शृङ्खलामा लगातार तेस्रो जित निकालेको छ । नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ ।

नेपालको ३२ खेलमा २४ अंक छ । नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारे पनि शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरूपमा सकिनेछ । नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *